काँकडभिट्टा । 

मानव बेचबिखन तथा न्यूनीकरण लागि सीमा नाका मेचीपुलको मुखमै नेपाल भारतका सरोकारवाला निकायसँग बीरता लेडी जेसीजले अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । 

बीरता लेडी जेसीजले १९ औं स्थापना दिवसका अवसरमा एकदिने मानव बेचबिखन विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । 

कार्यक्रममा नेपालमा मानव बेचबिखनको अवस्था, खुल्ला सिमानाका असरहरू, मानव बेचबिखनका गतिविधि रोक्न राज्य वा सरोकारवालाहरुको भूमिकालगायतका बिषयमा अन्तरक्रिया भएको थियो । 

बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको प्रमुख आतिथ्य रहेको थियो । 

संस्थाकी कानुनी सल्लाहाकार युनिता दवाडीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष स्वस्तिका आचार्य, इमिग्रेसन इन्चार्ज योगेश ठकुरीलगायतले शुभकामना मन्तब्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका महासचिव निशा शाक्यले गरेकी थिइन् । 

कार्यक्रममा माइती नेपालका प्रदेश नम्बर १ का संयोजक गोविन्द घिमिरे, बाल सुरक्षा अभियान भारतका गणेश राई, एबिसी नेपाल झापाकी अध्यक्ष कन्चना सिटौलालगायतको उपस्थिति रहेको थियो । जेसीजले गर्ने व्यक्तिगत, व्यावसायिक, अन्तर्राष्ट्रिय र सामुदायिक कार्यक्रमहरु मध्ये उक्त अन्तर्राष्ट्रिय कार्यक्रम रहेको अध्यक्ष गिरीले बताइन् ।