बिर्तामोड । 

बिर्तामोड नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट सोमवार (आज) एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ । केहि महिना अघि देउनीया पुलमा भएको ट्रक दुर्घटनामा परि घाईते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरीएको हो ।

राजवंशीलाई श्रमिक हितकोषको संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरेकी छिन् । राजवंशी इट्टा ढुवानी मजदुर हुन् । बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हितकोष सञ्चालनमा छ । यस कोषबाट राहत पाउनको लागि श्रमिक सूचिकृत हुनु पर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको यस कोषमा हालसम्ममा १ हजार २ सय ९६ जना सूचिकृत रहेको जनाइएको छ । यस कोषमा सूचिकृत हुने मजदुरहरुको सामुहिक बिमा हुने गरेको छ । यस विमाबाट श्रमिकको मृत्यु भएका ७ लाख रुपैयाँ र कार्यस्थलमा दुर्घटना भई घाइते भएमा अधिकतम ७० हजार रुपैयाँ पाउने व्यवस्था छ । बिर्तामोडमा निर्माण मजदुर, ढुवानी मजदुर, यातायात क्षेत्रका मजदुर र विद्युत तथा रङ्गरोगन क्षेत्रका मजदुरहरु सूचिकृत छन् । 

राहत चेक हस्तान्तरण कार्यक्रममा कोषका सदस्य अम्बिरकुमार लिङ्गदेन,भुपाल सापकोटा, सिता सापकोटा, गोकुल राजवंशीको समेत उपस्थिति रहेको थियो ।