विराटनगर ।
धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागू औषध गाँजासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागूऔषध गाँजा बरामद भएसँगै उक्त बस र बसका चालक सुन्दरहरैचा–५ मोरङका ५१ बर्षीय रुद्धबहादुर तामाङ, सह–चालक सहिदभूमी गाउँपालिका–७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा सहिदभुमि गाउँपालिका–४ का ४४ बर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।