बिर्तामोड ।
केही दिन अघि कम्बोडियाको एक क्यासिनोमा आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको शनिवार (आज) कनकाई माई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कम्बोडियाको पोइपेट शहरको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका पाण्डेको शव नेपालस्थित निजी निवास बिर्तामोडमा आईपुगेपछि अन्त्येष्टि गरिएको हो ।
निराकारको शव झापा आएपछि आज शव यात्रासहित अन्तिम दाहसंस्कार गरिएको हो । निराकारको शव यात्रामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि, आफन्तजनसहित हजारौको सहभागीता रहेको थियो ।
क्यासिनोमा आगलागी हुँदा होटलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हाम फाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाई भएको थियो ।
छोरा निराकारको शव नेपाल ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रतिनिधि सभा सभामुख देबराज घिमिरे, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली, अग्निप्रसाद खरेल, धर्मशिला चापागाईं, थाईल्याण्डस्थित नेपाली दुताबास, खगेन्द्र उप्रेती, ओमकृष्ण प्रसाई, विभिन्न सञ्चार माध्यमहरुलाईलगायत सबैमा आभारसहित बुबा अग्नि पाण्डेले सामाजिक सञ्जाल मार्फत धन्यबाद ज्ञापन गरेका छन् ।