सुरुङ्गा । 

राष्ट्रिय महिला आयोगले झापाको कनकाई नगरपालिकामा समाजमा बिद्यामान हानिकारक अभ्यासहरुका बिषयमा अन्तरक्रिया गरेको छ । आयोगको आयोजनामा शुक्रवार (आज) कनकाईमा बालबिवाह, बहुबिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगायतका प्रथाहरु सम्बन्धि एक दिने मदेश केन्द्रित अन्तरक्रिया भएको हो । अन्तरक्रिया कार्यक्रम कनकाई नगर बालबालिका शाखा प्रमुख टीका खतिवडाको संयोजनमा भएको हो ।

जनप्रतिनिधि, मानव अधिकारबादी, नगरका कर्मचारी, प्रहरीसहित करिब ५० जनाको सहभागीतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश नं. १ की कानुन अधिकृत पुष्पलता उप्रेती गरेकी थिइन् ।

 अन्तरक्रियाका क्रममा कानुन अधिकृत पुष्पलता उप्रेतीले महिला हिंसाका घटना देशमै सबै भन्दा धेरै प्रदेश नं. १ मा हुने गरेको बताइन् । उनले आत्महत्या, बलात्कार, बहुबिवाह जस्ता महिला हिंसाका घटना प्रदेश १ मा हुने गरेको बताएकी हुन् । 

antarkirya

महिला आयोगकी सदस्य सावित्राकुमारी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सामान्य प्रशासन मन्त्रालयका उप–सचिव ओमकार शाहले पारेका थिए । अन्तरक्रिया कार्यक्रममा कनकाई नगरकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको समेत आतिथ्य रहेको थियो । 

महिलाहरुलाई सचेतना जगाएर महिला हिंसा निर्मूलीकरण गर्ने उदेश्यले आयोगले सुनसरीको दुहबी, मोरङको रंगेली र झापाको कनकाई नगरमा अन्तरक्रिया गरेको आयोगकी कानुन अधिकृत आश्रृति पोखरेलले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन आयोगकी कर्मचारी बिना श्रेष्ठले गरेकी थिइन् ।