साधुटार ।
झापाको अर्जुनधारा –१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठाशाला तथा सिद्धेश्वरी कामदा गौशालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बनेको भवनको उद्घाटन हुने भएको छ ।
भवनको उद्घाटन उप–प्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनले आगामी माघ ९ गते गर्ने कार्यक्रम तय भएको शंकराचार्यपीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाख रुपैयाँमा बनेको २ तले, ४ कोठे भवनको उद्घाटन उप–प्रधानमन्त्री लिङ्देनले गर्ने जनाइएको छ ।
त्यस्तै श्री शंकराचार्यपीठ घोषणा भएको २५ औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर आद्य जगत्गुरु शंकराचार्यको मूर्तिसहित रजतस्तम्भ निर्माण गरिएको र उक्त रजतस्तम्भको आगामी माघ ९ गते सोमबार अनावरण गरिनेसमेत कार्यक्रम रहेको उनले बताए ।
शंकराचार्यपीठमा स्थापनाको ४७ औं बार्षिकोत्सव तथा श्री शंकराचार्यपीठ घोषणाको २५ औ बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको छ ।
आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा आचार्य शीतलकृष्णजी महाराजको प्रमुख कथाब्यास, पं. सोमनाथ खतिवडाको उपब्यास र यज्ञाचार्य हाकिमप्रसाद भण्डारीको रहेको छ ।
आध्यात्मिक जागरण मानव सचेतना, दैनिक रु. १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूलमा अध्ययनरत बटुकहरुका लागि भोजनाच्छादान ब्यवस्था, गौशाला सुदृढ ब्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहाराको ब्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उदेश्यले महायज्ञको आयोजना गरिएको ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए ।
महायज्ञमा वनारसबाट आद्य जगत्गुरु शंकराचार्यद्वारा विद्यारत्न उपाधि प्राप्त गरेका तथा नौ वटा स्वर्ण पदकले विभुषित सन्तसम्राट् स्वामी सुबोधानन्द गिरीजी महाराजको दैनिक प्रवचन तथा सिद्धबाबा बलराम गिरीजी महाराजले आशिर्वचन प्रदान गरिरहेको बताइएको छ । महायज्ञमा भारतका बिभिन्न स्थानबाट, नेपालको काठमाडौं, इलाम, सुनसरी, मोरङसहित स्थानबाट भक्तजनहरु आउने क्रमम दिनानुदिन बढिरहेको ब्यासाचार्य खतिवडाले जानकारी दिए ।