सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका यतिबेला सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ । नगरबाट प्रवाह हुने हरेक प्रकारका सेवा–सुविधा नागरिकसम्म सहज तथा थप प्रभावकारी रुपमा पु¥याउने अभियानमा नगरपालिका जुटेको हो । जसका लागि नगरपालिका सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास हुने खालका तालिम र प्रशिक्षण प्रदान गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले नगरपालिकामा आउने सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा प्रदान गर्ने गरी अभियान सञ्चालन गरिरहेको बताए । ‘कोही पनि, कुनैपनि काम भएन भनेर पर्खिनु र फर्किनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो’ ,प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । 

सोही क्रममा पुस २५ गते नगरका ५० जना जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिइएको छ । जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, समय व्यवस्थापन, आचरण, व्यवहार, योजना तुर्जुमा, भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए ।

त्यस्तै, पुस २६ र २७ गते कार्यालय सहयोगी, चालक, सरसफार्इ लगायतका ४७ जनालाई तालीम दिइएको छ । उनीहरुलाई आचरण, व्यवहार, अनुशासन, उत्प्रेरणा लगायतका विषयमा तालीम दिइएको अधिकृत भण्डारीले बताए।

त्यसैगरी  माघ ३ र ४ गते नगरका शाखा प्रमुख, वडा सचिव लगायत ६७ जनालाई तालीम दिइएको छ । उनीहरुलाई काम, कर्तव्य, अधिकार, कार्यालयगत संचरना लगायतका विषयमा तालीम दिइएको हो । सबै तालीम तथा प्रशिक्षण स्थानीय शासन विज्ञ तारानाथ निरौलाले प्रदान गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिए । कामको प्रकृतिका आधारमा सेवा प्रवाहको मापदण्ड बनाएर लागू गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । ‘मुख्य उद्देश्य सामुहिक संस्थागत क्षमता विकास नै हो’ उनले भने  ‘टिमवर्क बृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्नु हो ।’

कनकाईमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसँगै न्यौपानेले नगरको काम–कारबाही, विकास निर्माण, सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउने हरेक सम्भव प्रयास गरिरहेका छन् ।