बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीवार (आज) अन्तरक्रियासहित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटघाट कार्यक्रममा ज्ञवालीले १ नम्बर प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन साथै लागूऔध नियन्त्रणको लागि अभियान सञ्चालन गरिने बताए ।
कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख ज्ञावलीले प्रस्ट पारेका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नम्वर प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।