बिर्तामोड ।
झापाको बिर्तामोडमा आगामी फागुन ५ देखि १५ गतेसम्म ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ हुने भएको छ । बिर्तामोड उद्योग बाणिज्य संघले सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव आयोजनाका वारेमा जानकारी दिएको हो । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव बिर्तामोड–२ स्थित रामचोकमा हुने जनाइएको छ ।
दोस्रो तथा तेस्रो मुलुकसँगको निर्यात ब्यापारलाई बढावा दिने, आन्तरिक ब्यापार व्यवसायलाई चलायमान गराउने, नेपालमा उत्पादित कृषि बस्तु, हस्तकलाका सामाग्रीलगायतको प्रदर्शन तथा प्रवद्धन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवद्र्धन गर्ने जस्ता उदेश्य राखेर महोत्सवको आयोजना गरेको संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सवको संयोजक राजु न्यौपानेले जानकारी दिए ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य रहेको थियो । महोत्सव सम्पन्न गर्न संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने संयोजक र सचिवमा कुशल खतिवडा रहने महोत्सव आयोजक समिति गठन गरिएको छ ।
११ दिनसम्म आयोजना हुने ब्यापार महोत्सवमा नेपाल र छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामाग्री तथा बस्तुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउने बिशेषता रहेको संयोजक न्यौपानेले बताए ।
उत्पादक र उपभोक्ताबिच सुमधुर सम्बन्ध स्थापित गर्ने लक्ष्यले आयोजित महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु राखिने संघका अध्यक्ष शिवाकोटीले जानकारी दिए । त्यस्तै महोत्सवमा पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु गरी करिब २ सय ५० स्टलहरु रहने संघका महासचिब अर्जुन मैनालीले जानकारी दिए । महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र ४५ करोडको आर्थिक कारोवार हुने आयोजकले अनुमान गरेको छ भने महोत्सवका लागि एक करोड ४०÷५० लाख अनुमानित खर्च हुने जनाइएको छ ।
महोत्सवमा बिभिन्न स्टलहरुसहित सेल्फी जोन निर्माण, सांस्कृतिक कार्यक्रम, फोशन शोलगायत रहने जनाइएको छ । त्यस्तै सरकारी बिद्यालयका बिद्यार्थीलाई, जेष्ठ नागरिक, अपाङ्गतालगायतलाई निःशुल्क प्रवेश गराइने छ भने निजि बिद्यालयका बिद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिने महोत्सव संयोजक न्यौपानेले जानकारी गराएका छन् ।