झापा ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आज पूर्वको धार्मिक स्थलका रुपमा परिचित कनकाई माई नदीमा (मकर) माघे सङ्क्रान्तिका अवसरमा लागेको माईवेनी मेलामा रौनक रहेको छ ।
गत शुक्रवारदेखि शुरु भएको माइवेनी मेलाको मुख्य दिन आज कनकाई माई नदीको दुबै किनारामा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हजारौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निको हुने जनविश्वास रहेको छ ।
मकर संग्रान्तिका दिन विशेष रुपमा लाग्दै बिभिन्न स्थानमा मेला आयोजना भएका छन् भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिएको छ ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ ।