झापा । 

झापाको झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठमा बाँधी राखेको दुई वटा राँगा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २६ गते राती ११ः३० बजेको समयमा प्रहरी चौकी टाघनडुब्बामा प्राप्त जानकारी अनुसार तत्काल प्रहरी टोली, सम्बन्धित वडाका वडा अध्यक्ष र स्थानियको  सहयोगमा खोजतलास गर्ने क्रममा राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेपाल भारतको दशगजा सिमा क्षेत्रमा भारत ग्राम पञ्चायत धनतोला थाना डिगलबैंक २२ बर्षिय मोहमद नजिर रहेका छन् । त्यस्तै चोरीमा संलग्न सोही स्थानका अन्दाजी २०÷२२ बर्षिय  आजाहार महमद, अन्दाजी १९÷२० बर्षिय ईजाहुल हक र १९÷२० बर्षिय गोदा भन्ने तत्काल नाम र थर नखुलेका भारतिय ब्यक्ति फरार रहेका छन् । 

चोरी भएका २ वटा राँगा लुकाई छिपाई राखेको जानकारी पाएसँगै प्रहरी चौकी टाघनडुब्बा प्र.ना.नि.को टोली, जनप्रतिनिधि र स्थानियसहित, भारतिय प्रहरीसँग समेत समन्वय गरी खोजतलास गर्ने क्रममा २ वटा राँगासहित नेपाल भारतको दशगजा सिमा क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ । 

पक्राउ परेका मोहमद नजिरलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर चोरी शिर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

फरार रहेका अन्य तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।