सुरुङ्गा । 

परम्परागत रुपमा कनकाई माईको किनारामा लाग्दै आइरहेको मकर मेला शुक्रवार ण्आज) देखि शुरु भएको छ ।धार्मिक रुपमा लाग्दै आएका मकर मेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् । 

मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्याम राईले बताएका छन् ।

मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निको हुने जनविश्वास रहि आएको छ ।

कनकाई माईको दुबै किनारामा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हजारौंको संख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेष रुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिएकाअ‍े मेला आयोजक समितिका अध्यक्ष राईले बताए।

मेला उदघाटन कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ३ का वडाअध्यक्ष युवराज चम्लगाई, एमालेका नगर अध्यक्ष खडग प्रसाई कांग्रेसका नगर सभापति दुर्गा प्रसाई माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई राप्रपाका इन्द्र रोक्का लगायातले मेलाको पौराणिक र मनोरन्जनात्मक पक्षका वारेमा आ–आफ्नो भनाई राखेका थिए । 

कार्यक्रमको सञ्चालन संचारकर्मी अनुप भण्डारीले गरेका थिए। मेला उद्घाटनपछि अतिथिहरुले मनोरञ्जनात्मक खेल तमासाहरुको अवलोकन समेत गरिएको नगर कर्मचारी विजय पाठकले जानकारी दिए ।