सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले जग्गा धनीपूर्जा बितरण गरेको छ । बर्षौदेखि भोगचलन गर्दै आएका कनकाई–८ का २७ घरपरिवारलाई जग्गाको धनीपूर्जा बितरण गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । कनकाई–८ का धनीपूर्जा विहिन २७ घरपरिवारलाई जग्गाको धनिपूर्जा वितरण गरिएको हो ।
सुकुम्वासीका रुपमा निःशुल्क २० जनालाई र ७ जना अव्यवस्थित बसोवासीका आधारमा केहि शुल्क लिएर धनीपूर्जा बितरण गरिएको कनकाई नगरप्रमुख पोखरेलले जानकारी दिए ।
जग्गाधनीलाई राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष तिलक पाण्डे, नगरप्रमुख पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, वडा न ३ अध्यक्ष युव राज चौलागाईं, वडा न ४ का अध्यक्ष रोशनराज सुवेदी, वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई, वडा न ७ का अध्यक्ष भीष्मभुषण सिटौला, वडा न ८ का लीलाबहादुर कटुवाल, वडा न ९ का अध्यक्ष राजेन्द्र उप्रेती, नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि नि–वर्तमान जनप्रतिनिधिलगायातले जग्गाको पुर्जा प्रदान गरेको नगरका कर्मचारी विजय पाठकले जानकारी दिए।
जग्गाको लालपुर्जा वितरण गर्दै राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले विभिन्न प्राविधिक कठिनाई र राजनैतिक फेरबदलका कारण नेपालमा विभिन्न २३ वटा भुमि आयोग गठन भएपनि जनताले पूर्णरुपमा धनीपूर्जा पाउन ननसकेको बताए। कनकाई नगरपालिकामा ५ हजार ५ सय घरपरिवारले सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा धनीपूर्जाको फारम भरेपनि आशातित काम भने हुन नपाएको कनकाई नगरपालिकाकी भुमि शाखा संयोजक रन्जिता कट्टेलले बताइन् ।
नगरपालिकाका सबै ९ वटै वडाहरुमा धनीपूर्जाका लागि तथ्याङ्ग संकलन रुजु र नापी समेतका प्राय कामहरु सकिसकेको कट्टेलले जानकारी दिइन् । धनीपूर्जा पाएपछि नेपाली भएको महसुस भएको कनकाई ८ कि मनमाया जोगीले बताइन् । ‘आफुले बसोबास गरिरहेको ५ धुर जमिन पनि कसैले आएर छाड भन्छ कि भन्ने डर थियो’ उनले भनिन् ‘धनिपूर्जा पाएपछि अब कम्तीमा ढुक्क भयो ।’ उनले आफ्ना हजुरबुबा समेत ऐलानी जमिनमा बसेको र बाबु हुँदै आफ्ना पालामा समेत ऐलानी जग्गाबाटै अंशमा उक्त जमिन पाएको जोगीको भनाई थियो । बसोवासको ५० बर्षमै भएपनि जग्गाको लालपूर्जा पाएको जोगीले बताइन् ।
अर्का कनकाई ८ का टिकाराम लुईटेलले बसेको जग्गाको धनीपूर्जा नपाउदा दोस्रो दर्जाको नागरिक सरह हेपिएर बस्नु परेको पिडा सुनाए पनि लालपूर्जा पाएपछि खुसी ब्यक्त गरेका थिए ।
कम्तीमा १० बर्षसम्म विक्री बितरण गर्न नपाउने गरि धनीपूर्जा बितरण गरिएको नगर प्रमुख पोखरेलले बताए। आगामी दिनहरुमा क्रमश ५ नम्बर, ७ नम्बर र ३ नम्बरसहित वडाका सबै वडाहरुमा धनीपूर्जा वितरणको काम थालनी गरिने कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले बताइन् ।