बिर्तामोड । 

बिर्तामोड नगर प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आइतबार (आज) खाल्डो खनेर पुरेको छ । बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्ण रुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने सुराकीका आधारमा नगर प्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र स्थानिय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरिएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानि गर्ने विषादी हालिएका मरेका माछा विक्री वितरणमा रोक लगाएको छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने माछा अवैध ढंगले ओसार–पसारमा संलग्न व्यवसायी र त्यसमा संलग्नहरु पक्राउ परेको खण्डमा ऐन अनुसार कार्वाही गर्ने बताए । 

यस प्रकारका माछा बिर्तामोडको स्थानिय बजारमा बिक्री वितरण गर्न नपाउने भन्दै उनले सूचनालाई बेवास्था गर्ने जोकोहिलाई कार्वाहि गर्ने चेतावनी दिए । बिर्तामोडका कुनैपनि क्षेत्रमा मरेका माछा विक्री वितरण गरेको पाइएमा सूचना दिन नगरपालिकाले सबैलाई आग्रहसमेत गर्दै आएको छ ।