साधुटार । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित साधुटारको श्री शंकराचार्य पिठ वेदबेदाङ संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायज्ञ हुने भएको छ । 

श्री शंकराचार्य पिठ स्थापनाको ४७ औं बार्षिकोत्सव तथा २५ औ बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर महायज्ञको तयारी शुरु गरिएको हो । आगामी माघ १ गतेदेखि शुरु हुने श्रीमद् ब्रहवैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक विराट गोपाल महायज्ञ ११ गते सम्पन्न हुने पिठका व्यवसाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिएका छन् । 

खतिवडाका अनुसार आध्यामिक जागरण मानव सचेतना, दैनिक  रु १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूल अध्ययनरत बटुकहरुका लागि लगाउने र खानाको ब्यवस्था, गौशाला सुदृढ ब्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहाराको ब्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उदेश्यले महायज्ञ आयोजना गरिन लागेको हो । 

pitha

महायज्ञमा आचार्य श्री शीतलकृष्णजी महाराजको प्रमुख कथाब्यास रहने छ भने उपब्यास पं. सोमनाथ खतिवडाको र यज्ञाचार्य श्री हाकिमप्रसाद भण्डारीको रहने खतिवडाले बताएका छन् । 

पिठमा यज्ञशाला, शिवालय, प्रतिक्षालय, पाठशाला, बिद्यालय भवन निर्माण भइसकेको र पुस्ताकालय निर्माणधिन रहेको ब्यवसाचार्य खतिवडाले जानकारी दिए । ५ बिगाहा क्षेत्रफलमा रहेको पिठमा ७५ जना बटुक, ४ जना शिक्षक रहेका छन् भने गौशलामा २२ वटा गाईबाछा रहेको खतिवडाले जानकारी दिए । 

२०३३ सालमा उक्त स्थानमा बिद्यालय नभएको अवस्थामा खतिवडाका बुबा केदारनाथ खतिवडाले भविश्यमा गुरुकूलको आवश्यकता महसुस गरेर पिठको स्थापना गरेको जनाइएको छ । गुरुकूल दाताहरुको सहयोगले सञ्चालन हुँदै आएको छ ।