• प्रकाश उप्रेती 

मेचीनगर ।

वनका उपभोक्तालाई समान ब्यवहारको माग गर्दै संघर्षमा उत्रेको समितिले झापाको मेचीनगर–१३ को हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभा अवरुद्ध गरेको छ । वनले बिहीबार(आज) को चुनावी साधारण सभाको तयारी गर्दै मंगलबार उपभोक्तालाई जानकारी गराउन माइकीङ गरेको थियो ।

तर, बुधबार वन पदाधिकारी, वडाध्यक्ष र जिल्ला डिभिजन वन कार्यालयका पदाधिकारीबिच बसेको भेलामा संघर्ष समितिले समस्या सामाधानको माग अघि सारेपछि अनिश्चितकालीन रुपमा चुनावी साधारण सभा अवरुद्ध भएको हो ।

वनको संरक्षण र उपभोग गर्ने बिषयमा सबै उपभोक्ताको समान अधिकारको बिषय उठाएपछि जिल्ला डिभिजन वन कार्यालयले वार्ताको माध्यमबाट समस्याको सामाधान गर्ने भन्दै तोकिएको सभा रोक्न समितिलाई आदेश गरेको थियो । वन समितिले विभिन्न उपभोक्तालाई दुई भागमा वर्गीकरण गरि काठ–दाउरा उपभोग गर्दा फरक–फरक नियम लगाउदै आएको छ । तर, संघर्ष समितिले सबैलाई एउटै नियम लगाउनुपर्छ भन्दै आएकोमा वन समितिले वेवस्ता गर्दै आएको थियो । 

सबै उपभोक्ताको हितमा समिति नरहेको भन्दै गत २०७७ साउन ४ गतेदेखि संघर्षका कार्यक्रमअनुसार विभिन्न चरणमा छ्लफल गर्दै आएको थियो । 

 नेपाली सेनाले सुरक्षा-संरक्षण गर्दै आएको हातेमालो वन २०६४ सालमा नेपाल सरकारले जिल्ला वन कार्यालयको मातहतमा समुदायलाई संरक्षण र उपभोग गर्ने गरी हस्तान्तरण गरेको थियोे । सो समयमा वनको वरिपरिकालाई ‘क’  र टाढाका उपभोक्तालाई ‘ख’ वर्गमा वर्गीकरण गर्दै सोहि अनुसार नियम बनाएको थियो । तत्कालीन समयमा वन सम्बन्धि जानकार नभएकै कारण वर्गीकरण गरिएपनि हाल वर्गका उपभोक्ताले पनि ‘क’ वर्गकै काम गरेको उपभोक्ताको गुनासो छ । 

कार्यसमितिको नियममा ‘क’ वर्गका उपभोक्ताले मेजर ५ जनाको समितिमा र ‘ख’ वर्गका  उपभोक्ताले सदस्यमा मात्रै प्रतिस्पर्धा गर्न पाउनेछ । सबै उपभोक्ताले खुल्ला रुपमा कार्यसमितिमा प्रतिश्पर्दा गर्न पाउनुपर्ने माग संघर्ष समितिको छ ।

वनको नजिक रहेका उपभोक्तालाई ‘क’ र झण्डै १ किलोमीटर टाढा रहेका उपभोक्तालाई ‘ख’  वर्गमा वर्गीकरण गरेर वनको संरक्षण र काठ-दाउरा उपभोगको नियम लगाउदै आएको छ । उपभोक्ताले प्रतिक्युट्ल काठ उपभोग गर्दा ‘क’ का उपभोक्ताले १३ सयमा पाउने र ‘ख’  लाई १५ सय लिइदै आएको छ ।

सबै उपभोकाको अधिकार एउटै हुनुपर्छ, अधिकार प्राप्तिका लागि सवन्मय समितिका संयोजक जिवन प्रसाईले भने, ‘समान अधिकारका उपभोक्तालाई वन समितिले बिभेद गरेको छ । सबै उपभोक्तालाई एउटै र समान व्यबहारको नियम नबनाएसम्म हामीले संघर्ष जारी राख्छौं ।’  उनले हातेमालो वनको क्षेत्राधिकारभित्रका साबिकको दुहागढी गाबिस क्षेत्रका सबै उपभोक्ताको अधिकार समान हुनुपर्ने बताए ।

यसैबीच वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले वनका उपभोक्ताको जायज  मागलाई सम्बोधन गर्न भन्दै चुनावी सभा स्थगित गरेको बताए । यसअघि समस्याको सामाधान गर्न जिल्ला वन कार्यालय, प्राकृति द्वन्द रुपान्तरण केन्द्र, जिल्ला डिभिजन वन कार्यालय, मेचीनगरका मेयर, उपमेयर, मेचीनगर–१३ र १४ का वडाध्यक्ष, स्थानीय पार्टीका  प्रतिनिधि एबम् अध्यक्ष र वन पदाधिकारी र संघर्ष समितिबीच पटक–पटक बसेको छ्लफल(वार्ता असफल भएको थियो ।