झापा ।
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउने टारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागीमा मेघबहादुरसहित दुई जना घाइते भएका छन् । मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् भने घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएका छन्। घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने आगलागीको कारण अझै नखुलेको प्रहरीले जनाएको छ । आगलागी रातको साढे एकवजे शुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेको प्रहरी टोलीले नियन्त्रणको प्रयास गर्दा पनि सम्भव नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेर आगो नियन्त्रणसँगै घाइतेको उद्वार गरेको थियो । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । आगलागीमा ५० लाख रुपैंयाँ भन्दा वढिको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।