दुर्गापुर ।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ को प्रजापति सामुदायिक बन उपभोक्ता समुहको आगामी पुस २३ गते हुने निर्वाचनका लागि उपभोक्ता साझा प्यानलले प्रचारप्रसारलाई तिब्र पारेको छ ।
नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले संयुक्त उपभोक्ता साझा प्यान बनाएर चुनावी प्रचारप्रसारलाई तिब्र पारेको हो । उपभोक्ता साझा प्यानले सोमवार (आज) दुर्गापुरमा पत्रकार भेटघाटको आयोजना गर्दै प्रतिबद्धता सार्वजनिक गरेको छ ।
उपभोक्ता साझा प्यानको तर्फबाट अध्यक्षमा मोहनप्रसाद खतिवडा, उपाध्यक्षमा खगमाया संग्रौला, सचिवमा डिल्ली रिजाल, सह–सचिवमा कृष्णप्रसाद सिटौला र कोषाध्यक्षमा कल्पना पौडेलले उम्मेद्वारी दिएका छन् । त्यस्तै जनजाती सदस्यमा ओमप्रकाश प्रधान (राजु), दलित सदस्यमा खिनकुमारी विश्वकर्मा, खुल्ला सदस्य टोल नं. ३ बाट धनपति खतिवडा र महिला सदस्य टोल नं. ३ बाट भुमा पाठकले उम्मेद्वारी दिएका छन् ।
सामुदायिक वनको ठूलो रकम तलब भत्तामै खर्च हुने गरेको बताउँदै अध्यक्षका उम्मेद्वार खतिवडाले उक्त रकम उपभोक्ता र समाजको विकासमा कार्य गर्ने प्रतिवद्धता गरेका छन् । गरिबी निवारण मुख्य योजना भए पनि सामुदायिक वनबाट त्यस्तो हुन नसकेको उनले बताए । उक्त प्यालनले तलब भत्ता नलिेन उदेश्यले निर्वाचनमा होमिएको उनको भनाई छ । १३ जना कार्य समिति रहने समितिको कार्यकाल ५ बर्षको रहनेछ । चार वटा प्यानलसहित अध्यक्षका लागि ६ जनाले उम्मेद्वारी दिइएको बताइएको छ ।
चुनाव प्रचारप्रसार समितिका संयोजक मनोजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मनोज बस्नेतले गरेका थिए ।