सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गरेको छ । नगरले सोमवार (आज) एक समारोहकाबिच अक्सिजन प्लान्टको उद्घाटन गरेको हो । अक्सिजन प्लान्टको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका हुन् ।
कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा रहेको नगर अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । स्थानीय दाताहरुको सहयोग ५८ लाख ४३ हजार ४१३ रुपैयाँ र नगरपालिकाको १ करोड ७ लाख ६२ हजार २९३ रुपैयाँ गरी जम्मा १ करोड ६६ लाख ५ हजार ७०६ रुपैयाँको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको नगरले जनाएको छ ।
सञ्चालनमा आएको अक्सिजन प्लान्टले तीन घण्टामा १२ वटा सिलेण्डर भर्न सक्ने छ भने दैनिक १६० सिलेण्डर क्षमता रहेको जनाइएको छ । नगर प्रमुख पोखरेलले आफ्नो पारिश्रमिक वापतको १० लाख रुपैयाँ दिएर शुरु गरेको अक्सिजन प्लान्टले ९५ प्रतिशत भन्दा माथि सुद्धता अक्सिजन उत्पादन गर्ने नगर प्रमुख पोखरेलले जानकारी दिए । नगर प्रमुख पोखरेलले प्रदेश १ मै स्थानीय र नगरको सहकार्यमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने पहिलो नगर कनकाई भएको हुनसक्ने बताए ।
दुई बर्ष अघि कोरोना महामारीमा नगरवासीलाई नगरले निःशुल्क अक्सिजन उपलब्ध गराएको थियो । कोभिड बाहेकका अक्सिजन चाहिने सबैखाले बिरामीहरूले पनि सो सुविधा प्राप्त गरेका थिए । हाल सम्म पनि नगरपालिकाले अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई अक्सिजन खरिद गरेर निरुशुल्क रुपमा वितरण गर्दै आएको छ । अब आफ्नै प्लान्टबाट उत्पादन गरिएको अक्सिजन नगरबासीलाई निःशुल्क उपलब्ध गराउने नगर प्रमुख पोखरेलले बताएका छन् । उनका अनुसार छिमेकी पालिका र अस्पताललाई अक्सिजन बिक्री गर्ने गरि प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
नगर प्रमुख पोखरेलले नगर अस्पताललाई चाँडै सुविधासम्पन्न बनाएर नगरवासीलाई सहज र निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरेका छन् ।
नगर प्रमुख पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीले गरेकी थिइन् । सोही कार्यक्रमकाबिच अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गर्ने स्थानीय तथा पूर्व बिद्यार्थीहरु १ सय १७ जना मध्ये ५० जनालाई सम्मान समेत गरिएको थियो ।
उद्घाटन कार्यक्रममा कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, अस्पतालका डा. मनिष तिम्सिना, कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाध्यक्ष बलराम राई, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ५ का वडाध्यक्ष कृष्णबहादुर राई, ६ का वडाध्यक्ष दीर्घ थापा, ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालसहित नेकपा (माओवादी केन्द्र) कनकाई नगर अध्यक्ष यमनाथ सेडाई, एमाले नगर अध्यक्ष खड्ग प्रसाई, कांग्रेस नगर अध्यक्ष दुर्गा प्रसाईलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै उद्घाट कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, बिभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।