मेचीनगर ।

हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् । मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती शुरु गरेका हुन् ।

सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ । हर्वल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० विगाह जग्गामा वहुउपयोगी औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेती शुरु गरेका छन् ।

चितवनबाट ४ लाख लेमनग्रास र सिट्रोलेनाका विरुवा ल्याइएको संस्थाका सञ्चालक समिति सदस्य कुन्दन निरौलाले बताए । यसलाई विस्तार गरेर निकट भविश्यमा मेचीनगर–१, ४ र ६ का करिव १०० विगाह जग्गामा खेती गरिने संस्थाको योजना छ ।

‘रोपेको तीन महिनामा यसले उत्पादन दिन थाल्ने छ’, निरौलाले भने–‘ जेठदेखि भदौ महिना सम्ममा तयार हुन्छ, १ विगाहा खेतीमा ६ टनजति तेलका लागि औषधिजन्य घाँस उत्पादन हुनेछ, किसानबाट प्रतिकेजी ८ रुपैयाँले खरिद गरिने छ ।’

एकपटक रोपेपछि ७ वर्षसम्म यसले उत्पादन दिइरहने संस्थाको भनाई छ । संस्थाले किसानबाट खरिद गरेको उत्पादनलाई उद्योगमा प्रोसेसिङ गरेर तयार गरिएको कच्चा पदार्थ (तेल) लाई काठमाडौँमा बिक्री गरिने निरौलाले जानकारी दिए । सो तेल प्रतिलिटर १८ सयले बिक्री गरिने उनको दावी छ ।

सो तेलबाट सन्चो, ओखती लगायतका औषधिजन्य वस्तुहरु बन्ने बताइएको छ । संस्थाले आइतबार किसानहरुलाई भेला गरेर त्यस सम्बन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, समाजसेवीहरु सनतकुमार अधिकारी, हरि उप्रेती, महेन्द्र मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।औषधिजन्य वनस्पती खेती विस्तार सम्बन्धीका विज्ञ दिपक नेपालले किसानहरुलाई प्रशिक्षण समेत दिएका थिए ।

महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत समितिका सदस्य कुन्दन निरौला र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।