- सुदिप गिरी
हल्दीबारी ।
हल्दिबारी गाउँपालिकाका बिभिन्न वडामा निःशुल्क गरिब तथा अति विपन्नलाई आएको खानेपानी धारा जडान सम्पन्नको घरमा जडान भएको स्थानीयले गुनासो गरेका छन् ।
गाउँपालिकाबाट गरिब तथा अति बिपन्न परिबारका लागि निःशुल्क बितरण गर्ने योजना अन्तरगत आएको धारा वडा नम्बर ३ मा ७८ सेट, वडा नम्बर ४ मा १ सय ९९ सेट र वडा नम्बर ५ मा १ सय ६५ धारा जडान भईसकेको छ।
अति गरिब तथा बिपन्न परिवारलाई वितरण गर्ने भनिएको धारा सम्पन्नले परिवारले निःशुल्क पाएपछि स्थानीयको गुनासो रहेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समिति जलथलका अध्यक्ष नवराज खरेलले शुरूमा सूचना जारी गर्दा डेढ वर्षसम्म कोहि पनि उपभोक्ता धारा जडानको लागि नआएको बताए । ढेड वर्षपछि केहिले धारा लगेका थिए ।
निःशुल्क धारा वितरण गर्ने प्रक्रियामा पहिले खानेपानीको आफ्नै अनुगमन समिति तयार गरेको उनले बताए । ‘तर पछि वडा कार्यालयहरूको सिफारिसका आधारमा दिने निर्णय भयो’ उनले भने ‘सोहि निर्णय अनुसार वितरण गर्न थालियो, तर, वडा कार्यालयहरूले अन्धाधुन्ध रूपमा व्यापक मात्रामा सिफारिस गरी पठाएकोले गर्दा माग थेग्न गार्हो पर्यो ।’ ३ ,४ र ५ नम्बर वडा कार्यक्षेत्र भएको जलथल खानेपानीलाई तीनैवटा वडा कार्यालयबाट एकहजार पाँचसय जनाको निःशुल्क धारा जडान सिफारिस आएको उनको दाबी छ।
उनले खानेपानी तथा सरसफाई उपभोक्ता समिति जलथलका सञ्चालन समिति, कर्मचारीले कसैलाई पनि आफुखुसी निःशुल्क एउटा पनि धारा वितरण नगरेको बताए । हालसम्म जलथल खानेपानीका १ हजार ७०० सदस्य संख्या पुगेको छ। जम्मा धारा जडान गर्नेको संङ्ख्या १ हजार ४ सय ७९ पुगेको छ। जलथल क्षेत्रमा सार्वजनिक स्थलहरू र वडाहरूले सिफारिस गरेका ब्यक्ति समेत गरी जम्मा ४ सय ८५ वटा सेट धारा निःशुल्क जडान भईसकेको उनले बताए । साथै ५० सेट धारा हल्दिबारी १ गोलधापलाई दिएको जानकारी गराए ।
नपुगमा थप ४० सेट निःशुल्क धारा वडा नम्बर ३ लाई , ३०/३० सेट निःशुल्क धारा वडा नम्बर ४ र ५ लाई सिफारिस गर्न पत्रचार गरेको उनको भनाई छ । उक्त थप धारा जडानको कार्य भइरहेको उनले बताए । यता हल्दीबारी वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाका अनुसार वडा कार्यालयमा सिफारिस माग्न आएका सबैलाई सिफारिस गरिएको छ । उनले निःशुल्क खानेपानी धारा जडान क–कसलाई दिने अनुगमन गर्ने र हेरेर दिने अन्तिम निकाय खानेपानी संस्था भएको बताए ।
उनले पछिल्लो समय प्राप्त भएको ३० वटा धाराको सिफारिस रोकेको बताए । उनले गरिब तथा अतिविपन्नका लागि आएको निः शुल्क धारा सम्पन्नले लगेको भन्ने सार्वसाधारणको गुनासो आएपछि सिफारिस रोकिएको बताए । उनले यसवारे छानबिन गर्न हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनालीलाई आग्रह समेत गरेको बताएका छन् ।