हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । हल्दीबारी गाउँपालिकाको आयोजना तथा स्माइल नेपाल भद्रपुरको संयोजनमा गाउँपालिकामा बुधवार (आज) सार्वजनिक सुनवाई कार्यक्रम भएको हो । नयाँ जनप्रतिनिधिहरू निर्वाचित भए यताको यो पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम हो ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्माइल नेपालले हल्दिबारीका सार्वजनिक निकायहरूको सेवा प्रवाहको सर्वेक्षणको नतिजा प्रतिबेदन संस्थाका तर्फबाट सुमन ढकालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीको तर्फबाट हरिकृष्ण अधिकारीले गाउँपालिकाले सहकारी संस्थालाई कार्यक्रम किन दिन नसकेको र आम नागरिकको किन उल्लेख्य सहभागीता गराउन नसकिएको हो ? भनेर सवाल उठाएका थिए । त्यसैगरी अनुप साशंखरले बिद्यालयहरूमा आधारभूत पूर्वाधार खानेपानी, बिजुली, पंखा जस्ता सामान्य बिषयमा समेत पालिकाले ध्यान पु¥याउन नसको साथै बालमैत्रि स्थानीय तह बनाउनका लागि आवश्यक तयारीमा लाग्न सबैलाई ध्यानाकर्षण गराएका थिए ।
पवन गिरीले स्थानीय बालबालिका वडा स्तरीय बालसंजालमा किन बस्न नपाउने भन्दै वडाध्यक्षसँग जिज्ञासा राखेका थिए । बलराम गिरीले धनुषा आधारभूत बिद्यालयको घेराबारामा किन ढिलाई भएको हो साथै बिकास निमार्णका काम सञ्चालन गर्न पूर्व गर्नुपर्ने आधारभूत पुर्वाधारको सुरक्षा तयारीको बारेमा पालिकाको कमजोरी रहेको जानकारी गराएका थिए ।
सन्तोष कुमार मेचेले सहकारी संस्थातर्फ हल्दिबारी गाउँपालिकाले ध्यान नदिएको बाटोको छेउ छेउमा घाँस, रहरी दाल रोप्ने गरेको जसले गर्दा दुर्घटनाको जोखिम बढेको साथै हात्ती आतंकबाट सर्वसाधारण जनतालाई सचेत गराउन तत्काल साईरन जडान गर्नुपर्ने माग गरेका थिए । साबित्रा बार्हकोटीले गाउँपालिकाले महिलालाई लक्षित गरी सीप र रोजगारमुलक कार्यक्रम ल्याउनु पर्ने ध्यानाकर्षण गराएकी थिइन् । त्यस्तै राम टुडुले अति बिपन्न तथा गरिबको आवासका लागि बनाएको १३ वटा घरहरू किन बिपन्नलाई दिन ढिलासुस्ती भएको हो ? साथै बिद्यालयहरूको जस्ताको चुहिने छानो कहिलेसम्म प्रतिस्थापन भईसक्छ भन्ने बिषयमा प्रश्न गरेका थिए । कुमार भण्डारीले २ नम्बर वडा अध्यक्ष सुकलाल राजवंशीलाई सार्वजनिक सम्पति के के हुन् ? भनी प्रतिपश्न गरेका थिए भने वडाद्वारा सोलार बत्ती र सेन्सर बत्ती मर्मतबारे प्रश्न गरेका थिए ।
सुदीप गिरीले हुलाकी राजमार्गमा रहेको भुतेनी खोलाको पुलले कहिले पुर्णता पाउने र यसको पुर्णताको निम्ति स्थानीय सरकारले ५ वर्षसम्म किन चासो नदिएको प्रति ध्यानाकर्षण गराएका थिए । गिरीले पालिकाले अति बिपन्नका लागि वितरण गर्ने भनिएको धारा जडान कसरी सम्पन्नको घरमा जडान भएको र त्यसको विवरण सार्वजनिक गर्न माग गरेका थिए । उनले त्यसको कार्यबिधि पालिकाले प्रस्ट रूपमा देखाउन माग गर्दै पालिकाले विवरण गरेको ट्याक्टरको लाभ, प्रतिफल बारे समेत प्रष्ट पार्न अनुरोध गरे । साथै अन्य सहभागीहरूले समेत बिभिन्न प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको सम्वन्धित वडाध्यक्ष, प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले जवाफ दिएका थिए ।
कार्यक्रममा स्माइल नेपालका तर्फबाट अध्यक्ष गोपाल लिम्बू, नवीन पौडेल, सुमन ढकालको उपस्थिति रहेको थियो भने हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, बिषयगत शाखा प्रमुखहरू, सबै वडाध्यक्ष, वडा सचिवहरू र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय नागरिकहरू भने कम मात्रामै उपस्थिति रहेका थिए ।