मेचीनगर ।
गाउँ–टोलमा पुगेर काम गर्न सहज पुर्याउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम् सेवीकालाई झापाको मेचीनगर–१४ ले साइकल, व्याग र छाता वितरण गरेको छ ।
वडा कार्यालयमा आइतबार कार्यक्रमको आयोजना गरी वडाध्यक्ष बाबुलाल सुब्बाले ५ जना स्वयम् सेवीकालाई एक–एक थान साइकल, व्याग र छाता वितरण गरेका हुन्।
वडा नम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयम सेवीका यसोदा खतिवडा, दिव्यकला सशवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर वडाले सम्मान गरेको जनप्रतिनिधि दिपक सुबेदीले जानकारी दिए ।
वडाले स्वयम् सेवीकाहरुको कामको मूल्याङकन गर्दै यस आर्थिक वर्षको बजेटबाट ५० हजार रुपैयाँ साइकल खरिदको लागि विनियोजन गरेको थियो । निःशुल्क रुपमा आफ्नो वडामा रहेका बालबालिकाको स्वास्थमा चासो राखेर औषधि वितरण तथा खोप अभियानमा उनीहरु जुट्दै आएका छन् ।
वडाध्यक्ष सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु लालमत मियाँ, दीपक सुवेदी, बिमला सेवा, र फूलकुमारी राजवंशी लगायतले साइकलको चावी, छाता र व्याग हस्तान्तरण गरेका थिए । वडा नम्बर –१४ ले पहिलो पटक स्वस्थ्य स्वयम सेवीकाहरुलाई यस किसिमको सम्मान गरेको वडाध्यक्ष सुब्बाले बताए ।