बिर्तामोड।
सैनिकमोड–गोलधाप सडक खण्डमा भईरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद समाधान भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडिएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो ।
शनिवार (आज) बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग, स्थानिय टोल विकास संस्थाका पदाधिकारीलगायत सरोकारवालाहरुको उपस्थितिमा सहमति भएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । जग्गाधनि राजवंशीले सडक मापदण्ड अनुसार आफ्नो घरमा जोडिएको लाछी भत्काउने र सडकलाई ६० मिटर बनाउन सहयोग गर्ने सहमति जनाएपछि विवाद समाधान भएको हो । अब भोलीबाटै ड्रेन निर्माणको काम अघि बढ्ने नगर उपप्रमुख संग्रौलाले जानकारी दिए।
बिर्तामोड नगरपालिकाले आज (शनिबार) ११ बजेसम्ममा लाछी भत्काउन अनुरोध गर्दै राजवंशीलाई पत्र पठाएको थियो । पटक पटक मौखिक जानकारी गराउँदा समेत राजवंशीले अटेर गरेपछि नगरपालिकाले शुक्रवार पत्र पठाएको हो । सहमति भएपछि आज नै स्काभेटर प्रयोग गरेर सडकलाई ६० मिटर चौडाई बनाउने काम भएको छ ।
शहरी विकास मन्त्रालयको बजेटमा सैनिकमोड–गोलधाप सडक खण्डमा कालोपत्रेका लागि प्राथमिक चरणको काम धमाधम भईरहेको छ । सैनिक बजारसम्म ४ हजार २ सय मिटर सडकको कालो पत्रे निर्माणका लागि खनाल शान्ति जेभीले ४ करोड रुपैयाँमा ठेक्का लिएको हो । आगामि असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीका अनिल भट्टराईले जानकारी दिए।