अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकामा घरेलु मदिरा ब्राण्डिङका लागि छलफल तथा जमिन अवलोकन शुरु भएकोे छ । नगरले शनिवार (आज) नगरमा छलफल गर्दै घरेलु मदिरा ब्राण्डिङका लागि अर्जुनधारा २ र ५ मा जग्गाको अवलोकन गरेको हो ।
नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रदेश नं. १ कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो । मन्त्री दर्लामीले कार्यक्रममा सम्बोधन गर्दै घरेलु मदिरा ब्राण्डिङ गर्नु अति उपयुक्त भएको बताउँदै त्यसका लागि सरकारको नियम कानुन भित्र रहेर आफुले सकेको सहयोग गर्ने आश्वसन दिएका छन् ।
कार्यक्रममा संविधान सभा सदस्य प्रेम गिरीले घरेलु मदिरा उत्पादन तथा ब्राण्डीङ गर्नु राम्रो काम भएको र अर्जुनधारा नगरले यसका लागि गरेको पहल एकदमै उपयुक्त रहेको बताएका छन् । छलफल कार्यक्रममा नगर प्रमुख गोम्देनले घरेलु मदिरामा रोक लगाउदा विकृति बढ्ने बताउँदै यसलाई बाण्डिङ गरे रोजगारको अवसर र विदेशिने रकम कम हुने बताए ।
कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङ प्रदेश नम्बर १ का संयोजक टेकबहादुर खजुमले आफ्नो देशमा भएको रक्सी बन्द गरेर बिदेशी रक्सीमा रमाइ रहँदा अनुमानित ३÷४ अर्व रुपैयाँ बिदेश गइरहेको बताए । उनले यस बिषयमा लामो समयदेखि अध्ययन तथा बहस गरिरहेको बताउँदै आफ्नै देशमा उत्पादन भएको रक्सीलाई ब्राण्डिङ गर्न सके रक्सीका लागि बिदेशिने रकम कम हुने र स्वदेशी मदिराले स्वास्थ्यलाई पनि राम्रो हुने बताएका छन् । खजुमले खाली रहेको जग्गाको प्रयोग साथै रोजीरोटीको बाटो खुल्ने समेत बताएका छन् । स्वागत नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रमको सञ्चालन नगरका योजना अधिकृत हेमराज सेडाईले गरेका थिए ।
नगरमा भएको छलफलपछि अर्जुनधारा –२ र ५ मा घरेलु मदिरा ब्राण्डिङका लागि जग्गा अवलोकन गरिएको छ । जग्गा अवलोकनपछि बिज्ञलाई ल्याएर योजना अगाडी बढाउने नगरले जनाएको छ । जग्गा अवलोकन कृषिमन्त्री दर्लामी, संविधानसभा सदस्य गिरी, प्रदेश नं. १ योजना आयोग उपाध्यक्ष पूर्ण लक्सम, नगर प्रमुख बलदेबसिंह, उपप्रमुख पराजुली, घरेलु मदिरा ब्राण्डिङ प्रदेश १ संयोजक खजुम, नगर पार्टीका प्रमुख तथा प्रतिनिधिलगायतले गरेका छन् ।