लक्ष्मीपुर । 

झापाको कनकाई नगरपालिका –६ चम्फापुरमा आयोजना भएको महायज्ञको आय–व्यय सार्जजनिक भएको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान गर्ने उदेश्यका साथ राधिका फाउन्डेशनले आयोजना गरेको सप्ताह श्रीमद् भागवत  धनधान्याचल  महायज्ञको हिसाव सार्वजनिक भएको हो । 

राधिका फाउण्डेशनकी अध्यक्ष तथा महायज्ञ की प्रमुख कथा वाचिका राधिका दासीले बिहीवार(आज) महायज्ञ स्थलमा पत्रकार भेटघाट गरी आय–ब्यय सार्वजनिक गरेकी हुन् । 

उनले सार्वजनिक गरेको आय–ब्यय अनुसार गत मंसिर २२ देखि २८ गतेसम्म आयोजना भएको महायज्ञबाट ४० लाख ५० हजार ७९७ रुपैयाँ संकलन भएको र खर्च १७ लाख ४ हजार २२५ रुपैयाँ भएर २३ लाख ४६ हजार ५७२ रुपैयाँ बचत भएको छ । त्यस्तै बिभिन्न दाताहरुबाट १३ कठ्ठा १० धुर जग्गा प्राप्त भएको दासीले जानकारी दिइन् । उनले झापाका स्थानीय सरकारले पनि बाल हेल्फ लाइन सेन्टर बनाउन सहयोग गर्ने आश्वसन दिएको बताएकी छिन् । दासीले प्राप्त जग्गामा किताकाँट खुल्ने बित्तिकै नापजाँच गरेर भवन निर्माणको कार्यलाई अगाडी बढाउने बताएकी छिन् । 

dasi

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि  दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गरेको फाउन्डेशनकी अध्यक्ष दासीले बताइन् । 

झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले  निःशुल्क प्रदान गरेको जग्गामा भवन निर्माण गर्ने लक्ष्यका साथ महायज्ञको आयोजना गरिएको थियो । पत्रकार भेटघाटमा कनकाई वडा नं. ७ का वडाअध्यक्ष भिष्मभूषण सिटौला, समाजसेबी शेरबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।