बिर्तामोड । 

मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपले आफ्नो ११ औँ बार्षिकोत्सवको अवसर पारेर झापाको अर्जुनधारा नगरपालिका–६ को ‘अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र’ मा खाद्यान्य तथा लत्ताकपडा वितरण गरेको छ । 

ग्रुपले शनिबार एक कार्यक्रमकाबीच केन्द्रका १० अपाङ्ग बालबालिकालाई टोपी र ज्याकेट साथै खाद्यान्य र फ्रिज वितरण गरेको हो । बालआश्रममा रहेका बालबालिकाको दैनिक खानपान, शिक्षा लगायतको आधारभुत आवश्यकता पुरा गर्न समेत धौधौ परिरहेको जानकारी पाएपछि ग्रुपमा आबद्ध सदस्यबाट सहयोग गरिएको एमआरआर सदस्य सुबोध बुढाथोकीले बताए । 

ग्रुपले यसअघि रक्तदान गर्नुुका साथै, असहाय अपाङग बालबालिकाहरुलाई सहयोग गरिसकेको छ भने आगामी दिनमा आवश्यकता अनुसार सामाजिक कार्य गदै जाने बुढाथोकिले बताएका छन् ।  एमआरआर ग्रुपलाई फेसबुकमा मात्र सिमित नराखि स्थानिय तहसँग पनि सहकार्य गरेर अघि बढ्ने दमकका एमआरआर सदस्य मदन सापकोटाले जानकारी दिए । 

ग्रुपमा आवद्ध सदस्यले कसैबाट सहयोग नलिने र नलिएको बताउदै  सदस्य सरोज खरेलले ग्रुपले आर्थिक सहयोगको ब्यावस्थापन गरेर सहयोग गरेका बताए ।  केहि समय अघि मात्र युवाहरूको ठूलो संख्याले फलो गर्दै आएको एमआरआर ग्रुपलाई फेसबुकले ‘कम्युनिटी गाइडलाइन्स’ उलंघन गरेको भन्दै  निष्कृय बनाइ दिएको थियो ।