सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकाले २० घरपरिवार भूमिहीन सुकुम्वासीलाई धनीपूर्जा बितरण गरेको छ । नगरपालिकाले शनिवार (आज) एक कार्यक्रमको आयोजना गरी कनकाई– ८ का भूमिहीन सुकुम्बासी २० घरपरिवारलाई प्रतिलिपि धनिपूर्जा वितरण गरेको हो । राष्ट्रिय भूमि आयोग झापाले धनिपूर्जामा आवश्यक प्रक्रिया पूरा नगरेपनि नगरले गत भदौ २४ गते तयार पारेको धनिपूर्जाको प्रतिलिपि नगरमा रहेकाले सोही धनिपूर्जाको  प्रतिलिपि वितरण गरेको जनाइएको छ ।

नगरले आम निर्वाचन अघि धनिपूर्जा वितरणको तयारी गरेको  थियो । सो समयमा निर्वाचन आचारसंहिता लागू भएपछि वितरण कार्य रोकिएको थियो । नगरले पूर्व सूचना गरे अनुसार आज वितरण गर्ने कार्यक्रम तय भएको थियो । 

तोकिएको मितिमा आज धनिपूर्जा बितरण गर्न नगरले सर्वपक्षिय भेला बोलाइएको थियो । तर, निर्वाचन आयोगको आचारसंहिता फुकुवा नभएको भनेर राष्ट्रिय भूमि आयोग झापाले धनिपूर्जा उपलब्ध नभएका कारण नगरमा रहेको धनिपूर्जाको प्रतिलिपि वितरण गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । निर्वाचन आयोगसँग पनि कुरा भएर आज धनिपूर्जा वितरणको तयारी गरेको पोखरेलले बताएका छन् । उनले चाँडै सक्कली धनिपूर्जा घर–घरमै पुगेर बितरण गर्नेसमेत बताएका छन् । 

यता राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तीलक पाण्डेले निर्वाचन आचारसंहिता फुकुवा नभएकाले कनकाई नगरपालिकामा वितरण गरिने भनिएको धनिपूर्जा वितरण हुने नसकेको बताएका छन् । 

dhani purja