लक्ष्मीपुर ।
झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित बिहीवारे बजारको सामुदायिक भवनमा श्रीमद् पद्म महापुराण एवं धनधान्यञ्चल महायज्ञको आयोजना भएको छ । श्री नवदुर्गा पञ्चायतन मन्दिरको १८ औं बार्षिकोत्सवको अवसरमा १८ औं अनुष्ठान तथा १७ महापुराण आयोजना भएको हो ।
बुधवार (आज) मंसिर २१ गते उद्घाटन भएको महायज्ञ आगामी मंसिर २९ गते सम्पन्न हुनेछ । पुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बलदेबसिंह गोम्देन तामाङले गरेका हुन् ।
पुराण आयोजक समितिका संयोजक रुद्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नवदुर्गा पञ्चायतन मन्दिरका बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष गीताराज खड्का (हरि), भानु मावि ब्यवस्थापन समितिकी अध्यक्ष सरु न्यौपाने (लक्ष्मी), संघ/संस्थाका तर्फबाट देबराज बुढाथोकी, कनकाई नगरपालिका पूर्व कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, महानार्थ सदस्य गोपालकृष्ण थापालगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मन्दिर समिति सदस्य तेजबहादुर गिरीले गरेको मन्दिर समितिका सचिब खिलराज कार्कीले जानकारी दिए ।
कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ८ का वडाध्यक्षलगायत विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पुराणमा पण्डित रघुनाथ रिमालको प्रमुख ब्यासत्व र पण्डित लक्ष्मीप्रसाद पौडेल, पं.हरि नेपाल र पं.भरत अधिकारीको उपव्यासत्वमा हुने भएको छ । पुराण अवधिभर बिभिन्न झाँकी तथा भजनकिर्तनलगायतका सांगेतिक कार्यक्रम हुने जनाइएको छ । १०८ कलश यात्रासहित पुराणको उद्घाटन गरिएको हो ।