बिर्तामोड ।
‘लैङ्गिक हिंसा : न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा नारा र कागजमा होइन व्यवहारमा अन्त्य हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट प्रहरी निरीक्षक यशोदा घले र झापा बार एसोसिएसनका तर्फबाट अधिवक्ता कविता बाँस्तोलाले लैङ्गिक हिंसाका तथ्यांकीय तथा कानूनी पक्ष बारेको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहभागी सरोकारवालाले सबै लिङ्ग र उमेर समूहका व्यक्तिलाई हिंसा, यौन उत्पीडन र शोषणका साथै अन्य सबै प्रकारका दुव्र्यहारबाट स्वतन्त्र भएर बाँच्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । समाजमा दिनप्रतिदिन बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवालाको प्रभावकारी भूमिकामा जोड दिइएको छ ।
कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित नौ बुँदे सार्वजनिक अपिल जारी गरेका छन् । जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल, प्रदेश १ की पूर्व राज्यमन्त्री जसमाया गजमेर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिपसिंह कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक संजीव पौडेल, बाह्रदशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रत्ना राजवंशी लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि आफ्नो तहबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सरोकारावालाको सामुहिक नौ बुँदे अपिल पालना गर्न पनि आमनागरिकलाई आग्रह गरेका छन् ।