अर्जुनधारा।

 झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको १० दिने विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा बार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित आगामी मंसिर १८ गतेबाट २९ गतेसम्म विराट महायज्ञ गरिन लागेको हो ।

संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष पुरा गर्न अक्षयकोष बृद्धि, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि विराट महायज्ञको आयोजना गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए ।

महायज्ञको तयारीका लागि प्रचार–प्रसार, गेट एवं पण्डाल निर्माण तथां महायज्ञका लागि अन्य अत्यावश्यक सामग्रीको ब्यवस्थापन अन्तिम चरणमा पुगेको पीठका उपाध्यक्ष एवं प्रचार–प्रसार समितिका संयोजक डिल्लीराम दाहालले जानकारी दिए ।

उक्त एकादशदिवसीय संगीतमय श्रीमद्स्कन्ध महापुराण स्कन्द महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, प्रकाण्ड विद्वान गुरु चैतन्यकृष्णबाट संगीतमय कथा प्रवचन रहने छ भने वैदिक एवं पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुने पीठका उपाध्यक्ष एवं पण्डाल–गेट–विजुली–साउण्ड सिष्टम ब्यवस्थापन संयोजक कर्णबहादुर तामाङले जानकारी दिए ।