बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पुलको अनुगमन भएको छ । निर्माण हुँदै गरेको पुलको अनुगमन नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको टोलीले गरेको हो ।

पुल नहुँदा त्यस क्षेत्रका स्थानीयलाई वारीपारी गर्न असहज रहेको थियो । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको एनके कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार ३१९ रुपैंयाँ ५९ पैसामा पुल निर्माणको ठेक्का पाएको छ । पुल  ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाईको बन्ने जनाइएको छ ।

बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र निर्माण भईरहेका विकास निर्माणका कार्यहरुको प्रत्यक्ष रुपमा कडाईका साथ अनुगमन गर्दै आएको छ ।