बिर्तामोड ।  

वीरता जेडी जेसीजले ‘१५ औं राष्ट्रिय लेडी एकाडेमी’को आतिथ्य गर्ने भएको छ । नेपाल जेसीजको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय कार्यक्रम यो वर्ष झापामा मंसिर ९ र १० गर्न लागिएको हो ।

झापाको बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा नेपाल भरिका करिव एक सय महिला जेसीहरुको सहभागीता रहने मंगलवार(आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । 

महिला शसक्तिकरण र उद्यमशीलता, जेसीज पहिचान सम्वन्धि विभिन्न विषयमा दुई दिने तालिम प्रदान गरिने  निर्वतमान अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

पूर्वको वाहुनडाँगीदेखि पश्चिमको महेन्द्रनगरसम्मका तालिममा आएका सहभागीहरुलाई झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराइने र झापाको पहिचानका रुपमा रहेको भक्काका परिकारलाई खुवाउने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले जानकारी दिइन् ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी सहित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरुको सहभागीता रहने बताइएको छ ।

आज आयोजित पत्रकार भेटघाटमा नेपाल जेसीजका क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह सावा, २००९ की अध्यक्ष कन्चना सिटौला, कार्यकारिणी उपाध्यक्ष सुमित्रा भट्टराई, उपाध्यक्ष निशा शाक्य, कोषाध्यक्ष संगीता गिरी, तालिम संयोजक श्रयसी चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव युनिता दवाडीले गरेकी थिइन् ।