झापा ।
झापाको चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयको मतदान स्थल अगाडि शंकास्पद बमजस्तो देखिने बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले उक्त शंकास्द बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
भद्रपुर–७ स्थित वीरेन्द्र माबिको पश्चिम पट्टिको गेटमा गएराति बमजस्तो देखिने बस्तु फेला परेको थियो । दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने बस्तु फेला परेपछि प्रहरीले उक्त बस्तु रहेको स्थानमा सर्वसाधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो ।
नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा शक्तिशाली आवाज नसुनिए पनि बारुदजन्य पदार्थ पड्किएको जस्तो आवाज आएको थियो । झापा प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार बम नभएर बालुवा र अन्य चिज भरेर बम जस्तो देखिने गरी राखिएको बस्तु मात्र रहेको थियो ।
गएराति ९ बजेर ४० मिनेटमा वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा शंकास्पद वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शंकास्पद बस्तु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
पहिला फेला परेको वस्तु कार्टुनले प्याक गरी तार निकालिएको छ । त्यसमाथि खतराको संकेत उल्लेख गरिएको छ । दोस्रो शंकास्पद वस्तु झोला हो । एउटै मतदान स्थलमा दुईवटा शंकास्पद वस्तु फेला परेसँगै स्थानीयमा त्रास फैलिएको थियो ।