अर्जुनधारा ।
पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादशदिवसीय श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित विराट महायज्ञको तयारी तीब्र पारिएको छ ।
धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तीब्र पारिएको हो । उक्त विराट महायज्ञलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कालिकापीठ ब्यवस्थापन समितिको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए ।
पीठका उपाध्यक्ष डिल्लीराम दाहालका अनुसार श्रीमद्स्कन्ध महापुराणमा भगवान शिवशक्तिको विशेष पूजा–आरधनासहित महारुद्री महायज्ञ, नित्य हवन, तुलादान, बेद पाठपारायण, धनधान्याचल पूजन, गोपूजन एवं रात्रीकालीन जागरण लगायतका कार्यक्रम हुनेछन् ।
दैनिक ३० बढी ब्राम्हण बटुकहरुद्वारा हुने महायज्ञमा कायिक, वाचिक, मानसिक, आर्थिक एवं विभिन्न रुपले सक्रिय सहयोग पु¥याइ भब्य, सभ्य र मर्यादित रुपमा सफल बनाइने बताइएको छ । उक्त स्थानमा २४ बर्षमा ९ करोड बढीको संरचना निर्माण जनाइएको छ ।
हाल पीठ १७ कठ्ठा परिसरमा फैलिएको पीठमा गौशाला, पाकशाला, यज्ञशाला, छात्रबास, देवालय लगायतका भौतिक संरचना निर्माण भएका छन् भने शिवालय, नवग्रह, अरुन्धतीसहित सप्तऋषिको प्रतिमा रहेको हवन कुण्ड, देवी मन्दिर लगायतका भौतिक संरचनाहरु रहेका छन् ।
२०६३ सालबाट वैदिक ग्रन्थहरुको अध्ययन–अध्यापन समेत गराइदै आएको पीठमा पूर्वीय वैदिक संस्कार, संस्कृति र वैदिक ग्रन्थहरु रुद्री, दुर्गा सप्तसती, बेद, ब्याकरण एवं पुराणादि ग्रन्थहरुको आवास–भोजन सुविधासहित पूर्णरुपमा निःशुल्क पढाइने गरेको जनाइएको छ ।