झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुद्धटोलबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले कचनकवल–१ घर भई हाल बुद्धशान्ति–३ बस्ने ३१ बर्षिय मोहमद हुसेनलाई पक्राउ गरेको हो । 

हुसेनलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो ब्राउन सुगर १०२ ग्राम फेला परेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउपछि हुसेनलाई सोधपुछ गर्दा मेचीनगर–८ बस्ने बिकास राजबंशीसहित भारतमा गएर खरिद गरी ल्याएको बताएपछि बिकास राजबंशीको घरकोठामा समेत गएर चेकजाँच गर्दा उनले कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध खैरो ब्राउन सुगर २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको प्रहरीले जनाएको छ । 

उक्त प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित जम्मा १२७ ग्राम २५० मिलिग्रामसहित हुसेनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ भने राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।