झापा ।

मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारका एकसय ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेकामध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका हुन्। कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । नाम भएकाले मात्र मतदान गर्न पाउने उनको भनाई छ ।  कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार तीन सय ३५ नेपाली र एक सय १० जना विदेशी रहेका छन् । 

जिल्लामा सात सय ६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदात अधिकृत गरी एक हजार पाँच सय ३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।