हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ कार्यालयले किसानलाई विभिन्न जातका तरकारीको बिउविजन वितरण गर्ने भएको छ ।
गाउँपालिकाको गत असोज ३१ गतेको प्राप्त पत्र अनुसार पालिकाको चालू आ.व. २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत तरकारीका विउविजन वितरण गर्न लागिएको वडासचिब भजन संग्रौलाले जानकारी दिएका हुन् ।
किसानलाई तोरी, आलू, रायो तथा विभिन्न तरकारीको विउ गाउँपालिकाबाट प्राप्त भएकोले वडा मार्फत वितरण गर्न लागिएको वडा सचिव संग्रौलाले बताए । तरकारीको बिउ लिनका लागि नेपाली नागरिकताको प्रतिलिपी र बिजुली बत्तीको महशुल बुझाएको प्रमाणसहित वडामा निवेदन दिनु पर्ने वडाध्यक्ष खड्गबहादुर लावतीद्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ । आगामी कार्तिक २८ गते वितरण गरिने तरकारीको बिउका लागि २२ देखि २५ गतेसम्म वडामा निवेदन दिइसक्नु पर्नेछ ।
तोरी, आलू र घाँसको विउमा एक प्रकारको मात्र विउ उपलब्ध गराईने र गत २० गते घाँसको बीउ लिइसकेका किसानहरुलाई उक्त वीउ नदिइने जनाइएको छ ।