बिर्तामोड ।
मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् ।
नागरिक अगुवा संस्थाका प्रतिनिधिको (आज)मंगलबार बिर्तामोडमा सम्पन्न वैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल जारी गरिएको जनाइएको छ ।
सरकारी–गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।
मतदाता प्रभावित गर्न मतदानस्थल वरपर हुने भोजभतेर पूर्णतः बन्द गर्न गराउन अपिल गरिएको छ । साथै, निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन र खर्चको स्रोत खुलाउन दल तथा उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।
अपिलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) झापाका संयोजक डा. रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक., एनप्याब्सन झापाका कोषाध्यक्ष मोहन आचार्य, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, नेत्रहीन युवा संघका अध्यक्ष दिलकुमार राजवंशी, इन्सेक झापाका प्रतिनिधि नरेश खाती, मारवाडी सेवा समिति बिर्तामोड अध्यक्ष मोहन मित्तल, मेची काली बुहारी आवाजकी अध्यक्ष शिखा खड्का गणेशले अपिलमा हस्ताक्षर गरेका छन् ।