बिर्तामोड । 

बैंक तथा वित्तीय संस्थाले आर्थिक तरलताको चाप देखाउँदै असामान्य तरिकाले व्याजदर बढाएर आम उद्योगी व्यवसायीलाई मारमा पारेको भन्दै झापासहित प्रदेश १ का उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र संकुचित हुँदै गएको तथा आर्थिक गतिविधिमा आएको शिथिलताले आमव्यवसायीसहित जनसाधारणको समेत जनजीवनमा प्रत्यक्ष असर परिरहेका बेला बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरी असामान्य तरिकाले व्याजदर बढाएर अप्ठ्यारोमा पारेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । 

बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीलाई पलायन हुनबाट जोगाउन अनुकूल वातावरण निर्माण गर्न सरकार समक्ष दबाव दिने उद्देश्यले व्यवसायीले मंगलवारबाट प्रदेश १ भरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्ने लागेको बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले २२ गते मंगलबारबाट गर्ने विरोधका कार्यक्रमप्रति समेत ऐक्यवद्धता जनाउँदै विभिन्न १८ बुँदे माग बिर्तामोड उद्योग वाणिज्य संघले अघि सारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष प्रकाश शिवाकोटीले सरकारले उद्योगी व्यवसायीसहित आम नागरिकको पक्षमा

राहत हुने कार्यक्रम ल्याउनुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कात्तिक २२ गते जिल्ला प्रशासन कार्यालयसहित नगर तथा वैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र दिने, २३ गते बैंकसंग कुनै पनि कारोवार नगर्ने तथा दुई घण्टा प्ले कार्डसहित मौन जुलुस गर्ने, २५ गते मुख्यमन्त्री एवम् नेपाल राष्ट्र वैंकमा प्ले कार्डसहित धर्ना दिने तथा ज्ञापन पत्र दिने कार्यक्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डालमियाले बताए । 

बैँक तथा वित्तिय संस्थाको व्याजदर अनियन्त्रित बन्दै गएको प्रति संघले आपत्ति प्रकट गर्दै व्यवसायिक क्षेत्र पीडित र प्रभावित हुँदा पनि सरकार मौन बसेको संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गुनासो गरे । संघका पदाधिकारीले समेत आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले गरेका थिए ।

त्यस्तै २८ गते नेपाल राष्ट्र वैंकको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा दवाव दिने लगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।