बिर्तामोड । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध मिलाउन आग्रह गरिएको छ । 

झापाका अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट नेत्रहीन युवा संघ नेपाल झापा शाखाले सोमवार(आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी झापाका नेत्रहीनहरुले  यातायातको आग्रह गरेका हुन् । 

संघले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई उपयुक्त अनुकुलता हुने गरी यथासम्भव पहुँचयुक्त बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तिहरूसँग सांकेतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्नेलगायतका  माग राखेको छन् । 

संघका अध्यक्ष दिलकुमार राजवंशीले नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चित गरेको  बताए ।

 उनले अपाङ्गता भएका व्यक्तिहरू विभिन्न भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भईकन पनि आफ्नो वालिग मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै कोही पनि अपाङ्गता भएका व्यक्तिहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागि सम्बन्धित सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसरता लिनु पर्नेमा ध्यानाकर्षण गराएका छन् । 

कार्यक्रममा संघका सचिव होमनाथ राजवंशी, फिल्ड अधिकृत मुना भट्टराई, सहयोगी देवु चापागाईको पनि सहभागिता रहेको थियो । यसअघि संघले आइतवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ११ बुँदे ध्यानाकर्षणपत्र समेत बु्झाएको जनाइएको छ ।

apanga