सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले नगरभित्र अनाधिकृत रुपमा बनाएका संरचना हटाउन शुरु गरेको छ । नगरले झापा रोड क्षेत्रमा सडक मिचेर बनाइएका घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर नहटाएपछि आइतवार (आज) देखि डोजर लगाएर हटाउन शुरु गरेको हो ।
सुरुङ्गा बजारस्थित झापा रोडमा सडक मिचेर बनाएको पदम प्रसाईको सडकमा रहेको ४ तले घर अगाडीको भाग आज नगरपालिकाले डोजर लगाएर भत्काएको छ । अनाधिकृत रुपमा निर्माण भएका घर तथा टहरा हटाउन गत असोज १४ गते नगरले ३५ दिने सूचना जारी गरेको थियो । हिजो (शनिबार) उक्त मिति सकिएपछि आज भत्काउन शुरु गरिएको नगर प्रमख पोखरेलका स्वकीय सचिव बिजय पाठकले जानकारी दिए ।
पाठकका भत्काउनु अघि सम्बन्धित ब्यक्तिलाई नगरपालिकाले सडक मिचेका घर तथा हटाउन पत्रचारसमेत गरेको थियो । नहटाएपछि नगरलेनै त्यस्ता संरचना हटाउन शुरु गरेको हो । आजदेखि अनाधिकृत रुपमा बनेका संरचना हटाउन शुरु गरिएको अभियान नगरभर जारी रहने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
त्यसैगरी कनकाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष युवराज चम्लागाईका अनुसार वडामा ८८ वटा घरको लाछी अनाधिकृत रुपमा बनेका छन् । भोली वा पर्सी माइकिङ गरेर आफै हटाउन आग्रह गर्दा पनि अटेर गरे वडाले बल प्रयोग गरेर भएपनि हटाउने वडाध्यक्ष चम्लागाईले बताएका छन् ।