बिर्तामोड । 

नेपाल दशनामी समाजका प्रदेश सह–सचिव, बिर्तामोड नगर सल्लाहकार तथा सामाजिक ब्यक्तित्व पदमबहादुर पुरी (प्रकाश) ले समाजलाई २६ हजार रुपैयाँ प्रदान गरेका छन् । 

पुरीले नगर समितिको कोषलाई कोष स्थापनाका लागि घोषणा गरेको २६ हजार रुपैयाँको चेक समाजका नगर अध्यक्ष अर्जुन गिरीलाई शनिवार हस्तान्तरण गरेका हुन् । समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा बसेको बैठकमा समाजका प्रदेश सह–सचिव पुरीको प्रमुख आतिथ्य रहेको थियो । 

बन्धुहरुका लागि गठन भएको समाजमा सवैलाई एकताबद्ध गर्ने र समस्या पर्दा थोरै भएपनि सहयोग पुर्याउने उदेश्यले कोष स्थापना गरिएको हो । समाजले बन्धुहरुमा आइपर्ने समस्या सामाधन गर्न जोड दिदै आएको छ । 

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने उदेश्यले शुरु गरिएको कोषमा हालसम्म एकलाख ९७ हजार १११ रुपैयाँ रुपैयाँ जम्मा भएको नगर अध्यक्ष गिरीले जानकारी दिए । १० लाखको अक्षयकोष पुर्याएर उक्त कोषको ब्याजबाट आएको रकमले नगरका बन्धुहरुलाई पर्ने समस्यामा खर्च गरिने छ । 

स्वागत समाजका नगर सदस्य तथा देउसीभैलो संयोजक खेमराज गिरीले गरेको कार्यक्रममा  बरिष्ठ उपाध्यक्ष नारायण गिरी, उपाध्यक्ष जानुका गिरी, कोषाध्यक्ष खड्गराज गिरी, नगर सदस्य रणबहादुर गिरी, घनश्याम गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सदस्य गोविन्द गिरीले गरेका थिए ।  

सोही कार्यक्रमकाबिच तिहारको अवसर पारेर बिर्तामोड नगरका दशनामी बन्धुहरुकोमा खेलिएको देउसी भैलोबाट एकलाख ६४ हजार ३३५ रुपैयाँ संकलन भएको अध्यक्ष गिरीले जानकारी दिए । देउसी भैलोबाट संकलित उक्त रकम नगर भित्रका बन्धुहरुको घरमा भएको मरिमराउमा समवेदना र परेको समस्यामा खर्च गरिने अध्यक्ष गिरीले बताए ।