बिर्तामोड ।

नेपाल आदिबासी जनजाती महासंघ झापाले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेद्वासँग आफ्नो हक तथा अधिकारका बिषयमा अन्तरक्रिया गर्ने भएको छ । 

महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आदिबासी तथा जनजातीका धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचान मासिदै गएकाले त्यो उत्थानका लागि उम्मेद्वारसँग अन्तरक्रिया गर्ने जनाएको हो । 

महासंघले प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रम संयोजक तोकेर कार्तिक १७ देखि २३ गतेसम्म संविधानले आदिबासी तथा जनजातीलाई दिएको अधिकार कार्यन्वयनका लागि अन्तरक्रिया गर्न लागेको जानकारी दिएको हो । 

झापा क्षेत्र नं. १ को कार्यक्रमका लागि केवलराम राईलाई संयोजक तोकेर काँकडभिट्टामा कार्तिक १७ गते, झापा क्षेत्र नं.२ मा इन्द्रबहादुर श्रेष्ठलाई संयोजक तोकेर बिर्तामोडमा कार्तिक १९ गते, झापा क्षेत्र नं. ३ मा उत्तमकुमार राजवंशीलाई संयोजक तोकेर भद्रपुरमा कार्तिक २० गते, झापा क्षेत्र नं. ४ का लक्ष्मण श्रेष्ठलाई संयोजक तोकेर सुरुङ्गामा कार्तिक २३ र झापा क्षेत्र नं. ५ मा बदी साम्पाङलाई संयोजक तोकेर पाराजुकीमा कार्तिक २२ गते उम्मेद्वारहरुसँग छलफल र आफ्ना हकहितका बिषयमा अन्तरक्रिया गरिने जनाइएको छ । 

आदिबासी जनजातीका नेताहरु संघ र प्रदेशमा पुगे पनि आफ्ना अधिकारका बिषयमा नबोलेको आरोप लगाउँदै उनीहरुले भोट बैंकको रुपमा आफुहरुलाई प्रयोग गरेको बताएका छन् ।   

महासंघका अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता टेकबहादुर खजुम, फोनज झापा अध्यक्ष भुमिका सुब्बा, सिर्जलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिब लक्ष्मण श्रेष्ठले गरेका थिए ।