झापा।
नेपाली दोस्रो ठूलो पर्व तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । भाइटीका लगाएसँगै सम्पन्न तिहार सकिएपछि शुरु हुने छठ पर्वको रौनक शुरु भएको हो । झिलिमिली पर्वका रुपमा रहेको तिहार भाइटीकासँगै सम्पन्न भएको छ।
बिशेष गरेर सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइने र मनाइने गरिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुने गर्छ ।
तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन्।
अहिले छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । पर्सी छठको मुख्य दिन हो । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।