झापा ।

आज तिहारको चौथोदिन गोवर्द्धन, बलि, गोरु र कृषकको पूजा गरी मनाइदैछ । आज गोरुलाई पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । । 

बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरूप पूजा आराधना गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।