झापा ।
कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिले जनाएको छ ।
नेपालबाट नदेखिने भएपनि बेलुकी करिब ६ः४५ बजे ग्रहणले छोड्ने छ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको बताइएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ । आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अति कष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।