बाहुनडाँगी ।
झापाको मेचीनगर—४ बाहुनडाँगीमा शनिबारदेखि बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुका लागि लालीगुराँस वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु भएको छ । यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन भईरहेको छ ।
सुरक्षित आप्रवास परियोजना सामी तेस्रो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुका लागि सञ्चालन गरिने वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा वडा नम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हरेक मानिसले हरेक कुराको महत्व बुझ्न जरुरी रहेको बताए । मानिसले आफ्नो कमाईको आम्दानीलाई उचित रुपमा व्यवस्थापन गर्न सके आर्थिक संकटलाइ सहजै हल गर्ने सकिने उनको भनाई थियो ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी सञ्चालनमा आइरहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
सातको १ दिन दुईघण्टा २१ हप्तासम्म सञ्चालन हुने कक्षामा सहभागीहरुलाई कट्टेलसहित मनोपरामर्श सहजकर्ता प्रतिभा राईले प्रशिक्षण दिइने जनाइएको छ ।