बिर्तामोड ।

 झापाको बिर्तामोड नगरपालिकाले भारतबाट ल्याइएको माछा बिक्री वितरणमा रोक लगाएपछि माछा व्यवसायीहरु पीडित भएका छन् ।  नेपाल माछा ब्यवसायी संघ झापाले मंगलबार(आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी  नेपाल सरकारको कानुनी प्रावधान अनुसार भञ्सार प्रक्रिया पूरा गरी ल्याएको माछा बिक्री वितरण गर्न पाउनु पर्ने माग गरेका हुन् । 

नगरपालिकाको यस्तो निर्णयले माछा ब्यवसायी गर्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको साथै माछा ब्यवसायीको पेटमा लात मारेको ब्यवसायीहरुको ठहर रहेको पत्रकार भेटघाटका क्रममा वितरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । संघले तत्काल उक्त निर्णय फिर्ता लिएर ब्यवसाय गर्ने बातावरण सिर्जना गर्न बिर्तामोड नगरपालिकासँग अपिल समेत गरेको छ । 

पत्रकार सम्मेलनमा माछा ब्यापारमा लगाएको प्रतिबन्धका कारण ब्यवसायीहरु सडकमा पुगेको रोजीरोटीमा समेत समस्या उत्पन्न भएको अध्यक्ष सोनालाल साहले बताएका छन् । ब्यवसायीहरुले एलसीका लागि जम्मा गरेको करडौ रकम डुब्ने जोखिम बढेकाले नगरपालिकाको गम्भिर ध्यानाकर्ष गराउन चाहन्छौ । बिज्ञप्तीमा भनिएको छ । 

नगरले उक्त निर्णय नसच्याए ब्यवसायीहरु आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवार नगरपालिका हुने बिज्ञप्तीमा उल्लेख छ ।  कृषिथोक बजारमा दैनिक १५ कुईटेल माछा खपत हुने र नेपालमा उत्पादन भएका माछाले धान्न नसकिने अवस्था रहेको उनीहरुको भनाई छ । 

पत्रकार भेटघाटमा संघका अध्यक्ष  सोनालाल साह, उपाध्यक्ष धिमरज महम्मद, सचिव तवन सरकार, सदस्य शेरबहादुर राई, राजु राय, मनोज साह, गंगाराम साहलगायतको उपस्थिति रहेको थियो । २०६४/०६५ मा स्थापना भएको संघमा एकसयबढी ब्यवसायीहरु रहेको जनाइएको छ । 

गत असोज ६ गते बिर्तामोड नगरपालिकाले कार्तिक १ गतेबाट सूचना तथा पत्राचार गरेर नगर भित्र भारतीय मरेका माछा बिक्री तिरणमा रोक लगाएको छ ।