बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रमको नगर बिकास योजना पुस्तिका सार्वजनिकीकरण गरेको छ । नगरले सोमवार (आज) नगरपालिकाको कार्यालयमा नगरका जनप्रतिनिधिको उपस्थितिमा पत्रकार भेटघाटको आयोजना गरी  तथा पत्रकार नगर बिकास योजना पुस्तिका सार्वजनिक गरेको हो ।  

पुस्तिकाको सार्वजनिक नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडाध्यक्ष, वडासदस्यलगायतले संयुक्त रुपमा गरेका थिए । 

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संग्रौलाले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नगरका योजना बिभाग अधिकृत जय तिम्सिनाले गरेका थिए । 

बिर्तामोड नगरले आगामी आ.ब. ०७९/०८० को लागि कुल आयव्ययको १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरेको छ । उक्त बजेट मध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, त्यसैगरि नगरको आन्तरिक आयबाट  १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० रुपैयाँ प्राप्त हुने आज सार्वजनिक भएको बिकास योजना पुस्तिकामा उल्लेख छ । 

त्यस्तै संघीय शसर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपूरक  अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव पुस्तिकामा रहेका छ ।  

चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्गको लागि बिनियोजन गरिएको बजेट रहेको छ । पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत संभार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरी प्रस्ताव गरिएको छ ।